लोकसेवाको तयारी कसरी गर्ने ?प्रश्न कसरी हल गर्ने ? लेखाइ कस्तो हुनुपर्छ ?

लेखाई के हो ?

लेखाई कला हो । यो सूचनाको प्रस्तुतीकरण गर्ने माध्यम पनि हो । यो व्यक्तिपिच्छे फरक–फरक हुन्छ । राम्रो लेखनका लागि अभ्यास जरुरी हुन्छ । लेखाइ प्रस्तुतीकरण भएकाले लेख्दा सानो वाक्य संरचना, ओजिला शब्द, तथ्यपूर्ण तर्क र आफ्नो मौलिकपन पोख्न सक्नुपर्छ । लेखाइ सरल वाक्यांशबाट सुरु गर्नुपर्छ । अब्बल र सुन्दर लेखनका लागि साधनाको आवश्यक पर्छ । तसर्थ प्रत्येक दिन एक/दुई प्रश्नको हल गर्ने बानी बसाल्न सके लेखाइ आकर्षक बनाउन सकिन्छ । अभ्यासले अभ्यस्त बनाउने भएकाले नलेखी र नपढी लेख्न जानिँदैन । कुनै विषयवस्तुप्रति पर्याप्त सूचना संकलन नगरी लेख्न सकिँदैन । बिना सूचना प्रस्तुतीकरण संभव नै हुँदैन ।

लेखाइ कस्तो हुनुपर्छ ?

लेखाई सुन्दर र आकर्षित हुनुपर्छ । यसको अर्थ जाँचकीलाई ‘लट्ठ’ पार्ने किसिमको हुनुपर्छ । विषयवस्तुप्रतिको बुझाइ, ज्ञान र त्यसप्रतिको आफ्नो धारणले लेखाइ अझ उत्कृष्ट बनाउन सहज गर्छ । बुझाइ, ज्ञान र धारणाबीच उचित तालमेल मिलाउँदै सिलसिलेवार प्रस्तुत गर्न सके लेखाइ अझै रसिलो हुन्छ । लेखन उत्कृष्ट बनाउन विषयवस्तुबारे ज्ञानसँगै शब्द चयन, वाक्य संरचना र सिर्जनशिलता (मौखिकपन) मा ध्यान दिनुपर्छ । यिनको उचित संयोजनले नै सुन्दर र आकर्षित लेखाइ बन्न सक्छ ।

लेखाइमा के आवश्यक पर्छ ?

लेखाइलाई अटल बनाउन केही आधारभूत पक्षलाई बिर्सनु हुँदैन ।
  1. तथ्य
  2. ज्ञान
  3. तर्क
  4. वाक्य संरचना

तथ्य

लेखाइ सुन्दर बनाउन तथ्यको महत्वपूर्ण भूमिका हुन्छ । लेख्दा आफ्ना भावना, संवेग र बहकाउलाई कम प्राथमिकता दिँदै तथ्यलाई बढी जोड दिनुपर्छ । यसको लागि सम्बन्धित विषय (शीर्षक)मा उपलब्ध तथ्यांकलाई संकलन गर्नुपर्छ । यसका लागि नेपालको संविधान, ऐन, नियम र प्रतिवेदन महत्वपूर्ण सामग्री हुनसक्छन् । जस्तै : ऊर्जा संकटबारे आर्थिक सर्वेक्षण २०७३/७४ मा उल्लेख भएको ऊर्जाको उपलब्धता, पहुँच, दैनिक खपत, दैनिक आवश्यकता र त्यसको पर्याप्तता र अभावबीचको अन्तरसम्बन्ध तथ्य नहेरिकन लेख्दा उत्तर अपूर्ण हुन्छ । तथ्यांकबिना लेख्दा भावना बढी र तथ्य कम पेश भई उत्तर कमजोर हुने संभावना हुन्छ । त्यस्तै अर्को उदाहरण हेरौं । तथ्य र गफ (भावना)बीचको अन्तर । नेपालमा भ्रष्टाचार बढिरहेको छ भन्नु गफ हो । तर, ट्रान्सपरेन्सी इन्टरनेसनलले २०१६ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालले २९ अंक पाएर १३१ औं स्थानमा परेको छ । यसले नेपालमा भ्रष्टाचारको मात्रालाई बढिरहेको देखिएको छ भन्नु तथ्य हो । तथ्यसहितको गफ भयो भने पत्यारिलो र विश्वसनीय हुन्छ ।

ज्ञान

ज्ञानले सधै सबैलाई हसाउँछ । सम्बन्धित विषयवस्तुप्रतिको ज्ञान बिनाको लेखाइ खोक्रो र हलुका हुन्छ । विषयवस्तुप्रतिको आफ्नो धारणा बनाउन विषयवस्तुको उद्भव, सैद्धान्तिक, व्यवहारिक, कानुनी, संवैधानिक र विश्वजगत पक्षबारे गहन अध्ययन गर्न जरुरी हुन्छ । टुक्रे, बोक्रे र छोटो अध्ययनले विषयवस्तुप्रति सधै अनविज्ञ बनाइराख्छ । गहन र गहिरो अध्ययनपश्चात त्यसलाई आफ्नो समाज, कानुन र व्यवस्थासँग प्रतिबिम्बित गरेर हेर्दै आफ्नै धारणा बनाउनुपर्छ । जस्तै : कानुनी शासनबारे लेख्दा रुल अफ ल र रुल बाइ ल बीचको फरक, सुप्रिमेसी अफ ल, इक्विेटी बिफेर दि ल, अकाउन्टबिलिटी टु दि ल, सेप्रेसन अफ पावरर्सलगायतबारे परिचित हुनुपर्छ । साथै कानुनका शासनको अवस्थाबारे प्रकाशित प्रतिवेदन र मानव अधिकार आयोगका प्रतिवेदनबारो जानकार हुनु आवश्यक छ ।
त्यस्तै नेपालमा यसको संवैधानिक, कानुनी, संस्थागत र व्यवहारगत पक्षबारे जानकार हुनुपर्छ । नेपालमा यसको महत्व, सबल पक्ष, सुधार्नुपर्ने पक्ष र चुनौतीका विषयमासमेत प्रष्ट हुनुपर्छ । विषयवस्तुबारे जानकारी भयो भने परीक्षार्थीमा आत्मविश्वास जगाई सहजै उत्तर दिने आँट दिन्छ ।

तर्क

तपाईंलाई के लाग्छ ? विवेचना गर्नुस् ? सुझाव दिनुस् ? उपाय सुल्झाउनुस् ? जस्ता प्रश्नमा यसको प्रयोग बढी हुने गर्छ । यसमा पनि तपाईं तथ्यको बेसमा रहेर सही तर्क प्रस्तुत गर्न सक्नुहुन्छ ? हरेक टपिकमा छुटाउनै नहुने मुल शब्द हुन्छन् । तिनलाई नदोर्होयाएर लेख्नुपर्छ । तिनै शब्दमा टेकेर गहकिलो तर्क प्रस्तुत गर्ने पर्यत्न गर्नुपर्छ । जस्तै लेखापरीक्षण शीर्षकअन्तर्गत नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यता जस्ता आधारभूत शब्द (पक्ष) हुन् । यी शब्द छुटाई अरु शब्दले उत्तर भर्ने प्रयास गरियो भने उत्तर निरस हुन्छ । यस्ता आधारभूत शब्द सबै टपिकमा हुन्छन् । यसबारे परीक्षाको तयारीका क्रममा तयार पार्नुपर्छ । तर्क दिँदा जहिल्यै पनि आफ्नो मौखिकपन दिन सक्नुपर्छ । सिर्जनशिल, मौलिक र रचनात्मक प्रस्तुतिले युनिकता भर्ने हुनाले प्रायः परीक्षार्थीबाट यसैको अपेक्षा गरिएको हुन्छ । विषयवस्तुप्रति परीक्षार्थीको बुझाइ, ज्ञान र धारणा समेत जाँचिने भएकोले सकरात्मक तर्क पेश गर्नुपर्छ । सन्तुलित र सकरात्मक तर्क पेश गर्दा परीक्षार्थीलाई नै लाभ हुन्छ । मानवीय संवेग नकारात्मकरूपमा उत्तरमा असरल्ल, छताछुल्ल र अभद्ररूपमा पोखिनु हुँदैन ।

वाक्य संरचना

वाक्य संरचना छोटो, सरल र बुझिने किसिमको हुनुपर्छ । शब्द छनोटमा विशेष ध्यान दिनुपर्छ । जाँचकीलाई अलमल पार्ने, दोधारे अर्थ दिने शब्दको प्रयोग गर्न हुँदैन । सकबर ओजिला शब्द छनोट गर्नुपर्छ । हाम्रोमा बूँदागत, प्याराग्राफ र चित्रात्मक रूपमा लेख्ने प्रचलन छ । जसरी लेखे पनि सटिक उत्तर दिँदा केही फरक पर्दैन । प्याराग्राफमा लेख्दा ४/५ लाइनभन्दा बढीको बनाउँदा त्यति सुन्दर देखिदैन की ? त्यसमा विचार गर्नुपर्छ । यो टपिकबाट यो प्रश्न आयो भने यसरी लेख्छु भनेर पूर्वयोजना बनाउनुपर्छ । यसमा कपीको मार्जिन मिलाउनेदेखि लेख्ने समयसम्म निर्धारण गर्नुपर्छ । शब्द छनोट, अक्षरको सुन्दरता र वाक्य संरचना आफैमा उत्तर त होइनन् । तर, लेखेको उत्तरमा मिठास भरेर जाँचकीको मन जित्न उद्दत भने पक्कै गर्छन् ।

अन्त्यमा

लोकसेवाको पढाइ र लेखाइको लागि कुनै छुट्टै वैज्ञानिक विधि र सिद्धान्त छैन । ज–जसले जे–जे सुनाउँछन्, लेख्छन् । ति व्यक्ति अध्ययन र अनुभवका धारणा हुन् । यी सबै धारणामा सहमत हुनुपर्छ भन्ने पनि छैन । जसरी लेखे/पढे पनि प्रश्नले मागेको उत्तर दिएको खण्डमा सफलता धेरै टाढा हुँदैन । प्रश्न राम्रोसँग पढेर त्यसको अंकभार हेरेर मात्र उत्तर दिन तयार हुनुपर्छ । प्रश्नसँग राम्रोसित परिचित नभई उत्तर दिने हतार गर्नु हुँदैन । प्रश्नसँग चिरपरिचित नभइकन उत्तर दिने हतारोले प्रश्नले मागेको भन्दा आफूले जानेको उत्तर जाने डर हुन्छ । रुचि भएको क्षेत्रमा निरन्तरता, धैर्यता, कटिवद्धतासँगै समय व्यवस्थापन गर्न सके अवश्य सफल भइन्छ । नियमित प्रयास नै सफलताको बुटी हो । सबैलाई सफलताको शुभकामना ।
प्रशासन डट कमबाट।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post