रारा तालको बारेमा छोटकरीमा लेख्नुहोस्

राराताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट पश्चीम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । ताल्चा विमानस्थलबाट पनि तीन घन्टा हिँडेर यहाँ पुग्न सकिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।
प्रकृतिको अनुपम उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली, यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् ।  जेठदेखि असोजसम्म फुल्ने विभिन्न फूलहरूले यसको सुन्दरतामा निख्खार थप्दछन  ।  यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । विश्वमा अन्यत्र नपाइने असला (हिमाली) माछा यहाँ पाइन्छ । तालमा सिस्ने र कान्जिरोवा हिमालको दृश्य देखिन्छ ।

प्रधानमन्त्री केपी ओलीले यहि २०७५ बैशाख १ गते कर्णाली-रारा पर्यटन वर्ष २०७५ को शुभारम्भ गर्दै रारा तालबाट देशवासीका नाममा सम्बोधन गरेसंगै राराको थप चर्चा र प्रचारप्रसार भएको छ । पछिल्लो समय आन्तरिक पर्यटन संस्कृतिको विकास भएसंगै विदेशी पर्यटक मात्र नभई नेपाली युवाहरु रारा पुग्ने गरेका छन् ।।
Susmita Paudel

Namaste, I'm Susmita Paudel. I love to share what I have learned. I am writing on the Constitution, Management, Economics, Current Affairs, and More.

Post a Comment

Previous Post Next Post