लोकसेवाको तयारीले दोहोरो सफलता

देशमा शैक्षिक बेरोजगारीको संख्या बढेको बढ्यै छ। विकराल बन्दै गएको यो समस्याका कारण निजामती सेवातर्फ पनि शैक्षिक बेरोजगारको आकर्षण बढ्दो छ। लोकसेवा आयोगको विश्वसनियता, पारदर्शी परीक्षा प्रणाली वार्षिक कार्यतालिका अनुसार समयमा परीक्षा सञ्चालन आदि कारणले आयोगले सञ्चालन गर्ने परीक्षाको तयारीमा जुट्नेको संख्या उल्लेखनीय छ। पछिल्ला दिनमा आयोगमा परेका दरखास्तले समेत यो कुरा पुष्टि गर्छ।
लोकसेवा आयोगको परीक्षा तयारी गर्ने रहर, योग्यता र क्षमता हुँदाहुँदै पनि अध्ययन गर्ने सही तरिका नजान्दा धेरैजना अन्योलमा हुन्छन्। अध्ययन गर्ने उचित सामग्री छनोट, समय व्यवस्थापन र नियमित अध्ययनले यस्ता अन्योलता सहजै व्यवस्थापन गर्न सक्छ।
नियमित अध्ययन
लोकसेवा आयोगले दरखास्त आह्वान गरेपछि मात्रै परीक्षाको तयारीमा जुट्ने प्रवृत्ति फलदायी हुँदैन। यस्तो बानीले पाठ्यक्रममा तोकिएका विषयवस्तुको अध्ययन र समय व्यवस्थापन गर्न कठिनाइ हुन्छ। आयोगले दरखास्त खोल्ने, परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन र सिफारिस गर्ने कार्य नियमित रूपमा गरिरहेको हुन्छ। आयोगले यी सबै कार्य वार्षिक कार्यतालिका निर्माण गरी सोहीबमोजिम गर्ने गरेको छ।
यसबाट कुन सेवा समूहमा कुन पदको दरखास्त कहिले खुल्छ र परीक्षा कहिले सञ्चालन हुन्छ भन्नेबारे वार्षिक कार्यतालिका अध्ययन गरी सहजै अनुमान गर्न सकिन्छ। त्यसैले, आफूले लक्षित गरेको पदको परीक्षाको तयारी गर्दा पर्याप्त समय राखेर सुरु गर्नुपर्छ। आफूले अध्ययन गरेको विषयको विश्लेषण र मनन् गर्ने बानीले सिर्जनात्मक क्षमता बढ्छ।
सामग्री संकलन
बजारमा लोकसेवा आयोगको परीक्षा तयारीका लागि विभिन्न सहयोगी पुस्तक पाइन्छन्। तीमध्ये आफूले तयारी गर्न लागेको सेवा समूहको पदको पाठ्यक्रमलाई समेट्ने किसिमको कुनै पुस्तक छनोट गर्नुपर्छ। सबै पुस्तक राम्रा हुन्छन् भन्ने हुँदैन। पुस्तक छनोट गर्दा त्यसमा सबैभन्दा पहिला पाठ्यक्रमलाई कसरी समेटेको छ भन्ने विषयमा विचार गर्नुपर्छ। पुस्तकमा समेटिएको विषयवस्तुको सिलसिला र गहनता आदिबाट त्यो पुस्तक कस्तो हो भनेर छुट्याउन सहज हुन्छ। यसमा समेटिएका तथ्यांक अध्यावधिक छन् या छैनन् भन्ने कुरामा ध्यान दिन जरुरी छ।
पाठ्यक्रमले समेटेका विषयलाई तुलनात्मक अध्ययन गरी तयारी गरेको खण्डमा एउटै तयारीले विभिन्न परीक्षामा सहभागी हुन र सफलता पाउन सकिन्छ।
छनोट गरिएको पुस्तकलाई बेस बुक बनाएर पाठ्यक्रमलाई थप सहयोग गर्ने अन्य स्रोत सामग्री संकलन गर्न सकिन्छ। यसका लागि विभिन्न लेखरचना, पत्रपत्रिका अनलाइन सामग्री, वेबपेज आदि हुन सक्छ। यसबाट प्राप्त सामग्री टिपोट गरी पाठ्यक्रमको फ्रेमवर्कभित्र समेट्नु पर्छ। परीक्षाको तयारी गर्दा आफूलाई सधैं अध्यावधिक राख्नुपर्ने हुन्छ। यसका लागि विस्तृत अध्ययन चाहिन्छ।
पाठ्यक्रममा समानता
निजामती सेवाका विभिन्न सेवा समूहका विभिन्न पदको पाठ्यक्रम तयार गर्नेदेखि परीक्षा सञ्चालन गर्नेसम्मको काम लोकसेवा आयोगले गरी आफ्नो संवैधानिक दायित्व पूरा गरेको छ। यसका अतिरिक्त विभिन्न सुरक्षा निकाय र नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानको पनि परीक्षा सञ्चालन गर्छ। यद्यपि यिनीहरूको परीक्षाको पाठ्यक्रम तयार पार्ने काम भने सम्बन्धित निकायले नै गर्छ।
लोकसेवा आयोगले तयार पारेको विभिन्न अप्राविधिक पदहरूको पाठ्यक्रमलाई हेर्ने हो भने धेरै हदसम्म समानता रहेको छ। यसकारण एउटा परीक्षाको तयारी गर्दागर्दै अन्य विभिन्न पदका परीक्षामा पनि सहभागी हुन र सफलता पाउन सकिन्छ। लोकसेवाले प्रकाशित गरेको विभिन्न पदको लिखित परीक्षामा एउटै व्यक्तिले धेरैतिर नाम निकाल्ने गरेको उदाहरण धेरै छन्।
न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद् (एकीकृत र संयुक्त) सेवाको खरिदार, नायब सुब्बा र शाखा अधिकृत पदको वस्तुगत प्रथमपत्र सामान्य ज्ञानको पाठ्यक्रमलाई लिन सकिन्छ। खरिदार पदको पाठ्यक्रममा समेटिएको भौगोलिक अध्ययन, ऐतिहासिक अध्ययन, नेपालको सामाजिक अवस्था, परम्परा, मूल्य र मान्यता, पर्यावरण र जैविक विविधता, अन्तर्राष्ट्रिय सम्बन्ध, संघसंस्था, राजनीतिक, आर्थिक, सामाजिकलगायत विभिन्न समसामयिक विषय हुन्छ। यसमा गरिएको अध्ययनले नायब सुब्बा र शाखा अधिकृत पदको परीक्षाको तयारीमा समेत सहयोग पुग्छ। सोही पत्रमा समेटिएको बौद्धिक परीक्षणको पाठ्यक्रमसमेत तीनवटै पदमा समानता रहेको पाउन सकिन्छ।
विषयगततर्फ तुलना गर्दा खरिदारको तृतीय पत्र (सामाजिक अध्ययन तथा कार्यालय सञ्चालन) र नायब सुब्बा द्वितीय पत्र (सामाजिक आर्थिक अवस्था) को पाठ्यक्रमसमेत धेरै हदसम्म समान रहेको छ। निजामती सेवा, लेखा र लेखापरीक्षणसँग सम्बन्धित विषयले तीनवटै पदलाई समेटको पाइन्छ।
त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थातर्फको पाठ्यक्रममा पनि केही समानता पाइन्छ। यसरी सबै पाठ्यक्रमले समेटेका विषयलाई तुलनात्मक अध्ययन गरी तयारी गरेको खण्डमा एउटै तयारीले आफूले चाहेको विभिन्न परीक्षामा सफलता हासिल गर्न सकिन्छ।
नेपालको संविधान, आवधिक योजनाहरू, बजेटसम्बन्धी तथ्यांक, निजामती सेवा ऐन तथा नियमावलीहरूले सबै पदको पाठ्यक्रमलाई छोएको हुन्छ। जति माथिल्लो पदको तयारी गरिन्छ, उति नै अध्ययनको दायरा विस्तार गर्दै जानुपर्छ। लेखन शैली र प्रस्तुतीकरण सीपको निखारताले सफलता हात पार्न सहयोग हुन्छ।
भनिन्छ, लोकसेवा आयोगको परीक्षा पास गर्न हार्ड स्टडीभन्दा पनि स्मार्ट स्टडीको आवश्यकता पर्छ। यसका लागि आफू अनुकूल पढ्ने र सम्झने शैलीको विकास गर्नुपर्छ। एउटै विषयको धेरै ज्ञानभन्दा पनि धेरै विषयमा आवश्यक अलिअलि ज्ञान हुनेले नै लोकसेवा पास गर्न सजिलो हुन्छ।
Source: Annapurnapost
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post