नेपालका संविधानहरूको संक्षिप्त चिनारी

१. नेपाल सरकारको वैधानिक कानून २००४ (जारी मिति: २००४/१०/१३)

नेपालको संवैधानिक विकासको क्रममा नेपाल सरकार वैधानिक कानून, २००४ पहिलो लिखित संविधान हो। यो विधान नेपालको संवैधानिक विकासको इतिहासमा पहिलो पटक जारी भएको लिखित संविधान थियो, तर लागू हुन सकेन। यसमा भाग ६, धारा ६८ र फेहरिस्त १ समावेश थिए।

२. नेपालको अन्तरिम शासन विधान २००७ (जारी मिति २००७/१२/२९)

यो अन्तरिम शासन विधान नेपालको संवैधानिक विकासको क्रममा दोस्रो लिखित संविधान थियो। देशमा लागु भएको हिसावमा यो विधान पहिलो हो। यो विधान राजा त्रिभुवनबाट मन्त्रिपरिषदको सल्लाहमा तत्कालको लागि देशमा शासन सञ्चालन गर्न घोषणा गरी अस्थायी रुपमा लागु गरिएको थियो। यस विधानमा भाग ७ र ४७ धाराहरू समावेश थिए।

३. नेपाल अधिराज्यको संविधान, २०१५ (जारी मिति: २०१५/११/०१)

नेपाल अधिराज्यको संविधान, २०१५ राजाद्वारा गठित संविधान मस्यौदा आयोगले लिखित रूपमा तयार गरेको संविधान थियो। संविधानवेत्ता आइभोर जेनिङ समेतको परामर्शमा निर्माण भई राजाबाट धोषणा गरी लागु गरिएको यो संविधानले राजामा शासन शक्ति केन्द्रित गरी संसदीय व्यवस्था अपनाएको थियो। यो संविधानमा १० माग र ७७ धाराहरू समावेश थिए ।

४. नेपालको संविधान, २०१९ (जारी मिति २०१९/०९/०१)

नेपालको संविधान राजाद्वारा गठित संविधान मस्यौदा आयोगद्वारा लिखित रूपमा तयार पारेको मस्यौदालाई राजाले अन्तिम रूप दिई घोषणा गरी देशमा लागु गरिएको लिखित पञ्चायती संविधान थियो। यो संविधानमा २० भाग, ९७ धारा र ६ अनुसूचीहरू समावेश थिए।

५. नेपाल अधिराज्यको संविधान, २०४७ (जारी मिति: २०४७/०७/२३)

यो संविधान अन्तरिम मन्त्रिपरिषदको सिफारिसमा गठित संविधान सुझाव आयोगले लिखित रूपमा तयार पारी पेश गरेको मस्यौदालाई अन्तरिम सरकारको सिफारिसमा अन्तिम रूप दिई राजाद्वारा घोषणा गरी लागु गरिएको संसदीय व्यवस्थामा आधारित प्रजातान्त्रिक संविधान थियो। यो संविधानले नेपालको राजनीतिक इतिहा‌समा नै पहिलो चोटी राजालाई संवैधानिक बनाएको थियो। यसमा २३ भाग, १३३ धारा र ३ अनुसूचीहरु समावेश गरिएका थिए।

६ नेपालको अन्तरिम संविधान, २०६३ (जारी मिति २०६३/१०/०१)

२०६२/०६३ को संयुक्त जनआन्दोलनपछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा गठित १५ सदस्यीय अन्तरिम संविधान मस्यौदा समितिबाट तयार पारेको अन्तरिम संविधानका मस्यौदालाई आठ दलले पुनर्लेखन गरी पारित गरेपछि त्यसलाई मन्त्रिपरिषदबाट स्वीकृत भई प्रतिनिधि सभामा पेश गर्‍यो। प्रतिनिधि सभाले नेपाल अधिराज्यको संविधान, २०४७ लाई खारेज गर्दै २०६३ साल माघ १ गते नेपालको अन्तरिम संविधान, २०६३ जारी गरेको थियो। यो संविधानले राजाको राजसत्ताको अधिकार विधिवत रूपमा समाप्त गरेको थियो। यस संविधानमा भाग २५, धारा १६७ र ४ अनुसूचीहरू रहेका थिए।

७. नेपालको संविधान जारी (मिति: २०७२/०६/०३)

झण्डै ७० वर्षपछि नेपाली जनताले आफ्नो शासन आफै गर्नका लागि निरन्तररूपमा निरङ्कुश शासन व्यवस्थाको विरोधमा संघर्ष, आन्दोलन, सशस्त्र विद्रोह गर्दै आएको फलस्वरूप नेपालको इतिहासमा नै पहिलो पटक जनताले निर्वाचित गरेको संविधानसभाद्वारा संविधान निर्माण गरी जारी गरिएको यो नेपालको पहिलो संविधान हो। यो संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणराज्यमा रुपान्तरित गरेको छ। यस संविधानमा भाग ३५, धारा ३०८ र ९ अनुसूचीहरू समावेश रहेका छन्।

nepal-constitutional-development

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post