३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान कार्यक्रमको कार्यक्रम सम्पन्न प्रतिवेदन

30th International Disability Day December 3


परिचयः 

अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ ले अपाङ्गता भएका व्यक्तिभन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (Functional Impairment) वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ भनि परिभाषित गरेको छ ।

अन्य नागरिक सरह अपाङ्गता भएका व्यक्तिहरुलाई मर्यादित जीवनयापन गर्न पाउने हक हुने व्यवस्था अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, २००६ (Convention on Rights of Persons with Disabilities (CRPD), 2006 ) ले गरेको छ । नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६ लाई सन् २००९ को डिसेम्बर २७ मा अनुमोदन गरी पक्ष राष्ट्र  भई नयाँ संविधान २०७२ को धारा ४२ मा व्यवस्था भएको सामाजिक न्यायको हक अन्तर्गतको उपधारा ३ मा अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । साथै संविधानको अनुसुची ८ मा व्यवस्था भएको स्थानीय तहको अधिकार अन्तर्गतको बुदा नं. १५ मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन गर्ने कार्य समेत स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएको छ । नयाँ संविधान अनुरुप बनेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७४ ले शारीरिक अवस्थाको आधारमा विना विभेद सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ भन्ने व्यवस्था गरेको छ ।

राष्ट्रिय जनगणना  २०६८ अनुसार नेपालमा कुल  जनसङ्ख्याको १.९४  प्रतिशत  अपाङ्गता  भएका  व्यक्तीहरू छन्  । संविधानले व्यवस्था गरेको स्थानीय तहको अधिकार अन्तर्गतको प्रावधान कार्यान्वयन गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४२ मा भएको अपाङ्गता सम्बन्धमा स्थानीय तहमा सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्याङकन, सरोकारवाला निकाय तथा संघसंस्थाहरुसँग समन्वय, सहजीकरण आदि लगायत अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्य समेत गर्न गाउँपालिकास्तरीय अपाङ्गता हकहित समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था अनुसार यस प्रतापपुर गाउँपालिकामा समिति गठन गरी अपाङ्गता परिचय पत्रवितरण सम्बन्धि कार्य समेत गर्दै आएको छ ।हालसम्म करिव ४०० जनाले अपाङ्गता परिचय पत्र प्राप्त गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासको क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्यो । अपाङ्गता भएका व्यक्तिहरूका सवालमा विश्वव्यापी रूपमा काम गर्न सन् १९८३ मा राष्ट्रसंघले अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्ययोजना लागू गर्यो । सन् १९९२ मा १० वर्षे कार्ययोजनाको विश्वव्यापी कार्यान्वयनको समिक्षा गरियो र सोहि वर्ष देखी ३ डिसेम्बरलाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो । नेपालमा यो दिवस सन् १९९३ देखि मनाउन थालिएको हो। जुन हरेक वर्ष सबै सरोकारवालाहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू गरी मनाउने गरिन्छ ।

यसै ३० औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस डिसेम्बर ३ को सन्दर्भमा प्रतापपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान कार्यक्रमको आयोजना गरेको थियो । यस कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्च र श्री जनजागृति अपाङ्ग संस्था (CBR Network) ले सहकार्य गरेको थियो ।

यस सम्मान कार्यक्रममा सहभागीको रूपमा प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी ६० जना अपाङ्गता भएका व्यक्तित्वहरू सहभागी हुनुभएको थियो । जिल्ला अपाङ्ग महासंघ नवलपरासीबाट समेत कार्यक्रममा उपस्थित हुनुभएको थियो ।

2. कार्यक्रम संचालनको अवधिः

मिति 2078 मंसिर १७ गते (डिसेम्बर ३ तारिख )

3. कार्यक्रम संचालन गरिएको स्थानः

त्रिभुवन क्याम्पस, बेलाटारी नवलपरासी ।

4. कार्यक्रममा सहभागीहरुको नाम थर र पदः                

क्र.सं.

नाम थर

पद

अन्जु कुमारी चौधरी

का.वा. अध्यक्ष

राम प्रसाद सापकोटा

प्र.प्र.अ.

दिवाकर चौधरी

वडा अध्यक्ष, वडा नं. ३

बुद्धिसागर पाण्डेय

जिल्ला अपाङ्ग महासंघ नवलपरासीका अध्यक्ष

बच्चा राजभर

अध्यक्ष, जनजागृति अपाङ्ग संस्था

कमला चौधरी

फिल्ड सुपरभाइजर, इन्द्रेणी सामाजिक विकास मञ्च

तवहिद धुनिया

प्रतिनिधि, फियर मेड

नारायण भण्डारी

प्रतिनिधि, इन्द्रेणी सामाजिक विकास मञ्च

चक्रपाणी भण्डारी

अधिकृत छैठौं, प्रशासन शाखा

१०

सुस्मीता पौडेल

सामाजिक विकास शाखा

११

सबै वडाबाट प्रतिनिधित्व गर्ने अपाङ्गता भएका व्यक्तित्वहरू (६० जना)

 

१२

दालिराम चौधरी

का.स. प्रतापपुर गा.पा.

१३

त्रिलोकी गुप्ता

का.स. त्रिभूवन क्याम्पस

कार्यक्रम संचालन विधिः

कार्यक्रम संचालन मिति 2078 मंसिर १७ गते शुक्रवार,

३० औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा त्रिभूवन क्याम्पस बेलाटारीको हलमा प्रतापपुर गाउँपालिकाद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान कार्यक्रमको अध्यक्षता प्रतापपुर गाउँपालिका अपाङ्ग हकहित समन्वय समितिका अध्यक्ष तथा प्रतापपुर गाउँपालिकाका का.वा. अध्यक्ष श्री अन्जु कुमारी चौधरीज्यू रहेको थियो । प्रमुख अतिथि जिल्ला अपाङ्ग महासंघ नवलपरासीका अध्यक्ष श्री बुद्धिसागर पाण्डेयज्यू रहनुभएको थियो । त्यसैगरी कार्यक्रमका विशेष अतिथि प्रतापपुर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री दिवाकर चौधरीज्यू हुनुहुन्थ्यो । अतिथिहरूमा जनजागृति अपाङ्ग संस्था (CBR Network) का अध्यक्ष श्री बच्चा राजभरज्यू तथा इन्द्रेणी सामाजिक विकास मञ्चका फिल्ड सुपरभाइजर श्री कमला चौधरीज्यू, फेयरमेड संस्थाबाट प्रतिनिधित्व गर्दै श्री तवहिद धुनियाँज्यू हुनुहुन्थ्यो । कार्यक्रममा अतिथिको रुपमा सामाजिक विकास शाखा प्रमुख श्री सुस्मिता पौडेलज्यू हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख अधिकृत छैठौं श्री चक्रपाणी भण्डारीज्यूले गर्नुभएको थियो । कार्यक्रममा सबै वडाबाट प्रतिनिधित्व गर्दै ६० जना अपाङ्गता भएका व्यक्तित्वहरू उत्साहजनक उपस्थित रहेको थियो ।

मञ्चमा आशिन अतिथिज्यूहरूलाई सम्मान गरिसकेपछि आफ्ना शब्दगुच्छाद्वारा अतिथिज्यूहरूलाई प्रतापपुर गाउँपालिकास्तरीय अपाङ्ग हकहित समन्वय समितिका सदस्य श्री बच्चा राजभरज्यूले स्वागत मन्तव्य दिनुभएको थियो।

कार्यक्रमका सभापतिले दिप प्रज्वलन गरी व्यानर पढिसकेपछि कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो ।

सञ्चालकले कार्यक्रम/कार्यक्रमको उद्देश्य, आवश्यकता र कार्यक्रमको बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको आवश्यकता र उद्देश्यमाथि प्रकाश पारिसकेपछि प्रतापपुर गाउँपालिकास्तरीय अपाङ्ग हकहित समन्वय समितिका सदस्य श्री तवहिद धुनियाज्यूले सहभागी मन्तव्य दिनुभएको थियो । विशेष अतिथि प्रतापपुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष श्री दिवाकर चौधरीज्यूले आफ्नो विचार सहित आफ्नो मन्तव्य राक्नुभएको थियो । प्रमुख अतिथि जिल्ला अपाङ्ग महासंघ नवलपरासीका अध्यक्ष श्री बुद्धिसागर पाण्डेयज्यूले आफ्नो धारणा सहित आफ्नो मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रम सकिसकेपछि अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू तथा अतिथिज्यूहरूको करकमलबाट यथास्थानमा पुगी अपाङ्गता भएका ब्यक्तित्वहरुलाई टिका लगाई जाडोमा ओढ्ने सल ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष प्रतापपुर गाउँपालिका अपाङ्ग हकहित समन्वय समितिका अध्यक्ष तथा प्रतापपुर गाउँपालिकाका का.वा. अध्यक्ष श्री अन्जु कुमारी चौधरीज्यूले कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो । कार्यक्रमको समापनपछि चिया खाजाको कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा प्रयोग भएका सामाग्रीहरुः

मार्कर, पेन, स्ट्याप्लर, रजिष्टर, कैँची, मास्किन टेप, मास्क स्यानीटाईजर, मायाँको चिनो, डायरी, कार्यक्रम पुस्तिका, जाडोमा ओढ्ने सल

कार्यक्रममा अपनाईएका विधिहरुः

अन्तर्क्रियात्मक विधि

भूमिका निर्वाह विधि।

कार्यक्रमका उपलब्धिहरुः

  • ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस देशव्यापी रूपमा मनाउने राज्यको कार्यक्रमप्रति प्रतापपुर गाउँपालिकाले ऐक्यवद्धता पूरा गरेको ।
  • राज्यबाट अपाङ्गता भएका व्यक्तिहरूले प्राप्त गर्ने हक अधिकारहरुको प्रत्याभूती गराइएको ।
  • प्रतापपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तित्वहरू प्रति आफ्नो अभिभावकत्वको भूमिका निर्वाह गरेको । 
  • अपाङ्गता भएका व्यक्तिहरूमा आत्मसम्मानको महशुस गराइएको ।
  • राज्यका हरेक तह र तप्कामा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सुसुचित गराइएको ।

सल्लाह तथा सुझाबहरुः

अपाङ्गता भएका व्यक्तिहरूले संविधान र मौजुदा कानूनद्वारा प्रदान गरिएका हकअधिकारको सुनिश्चितता हुनु अपरिहार्य छ । समग्रमा यस कार्यक्रम सम्पन्न गरिसकेपछि मैले देखेका देहायका विषयहरू सल्लाह तथा सुझावको रूपमा प्रस्तुत गरेको छु ।

  • अपाङ्गता भएका व्यक्तित्वहरूको आत्मबल उच्च राख्न सबै तहका सरकारहरूले भव्यताका साथ यस्ता सम्मान सहित दिवसीय कार्यक्रमहरूको आयोजना गर्नुपर्दछ ।
  • प्रतिनिधिको रूपमा केहि व्यक्तित्वहरूलाई सहभागी गराएर नभई गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्तित्वहरूलाई सहभागी गराउन सकेको खण्डमा सबैप्रति सम्मानको भावना मुखरित हुने थियो ।
  • सरकार, निजि क्षेत्र, गैरसरकारी तथा सामुदायिक संघसंस्थाहरूको सहकार्यमा यस्ता कार्यक्रमहरूको आयोजना हुन सकेमा लक्षित समुदायसम्म पुगेर कार्यक्रम वास्तविक उद्देश्य प्राप्तिमा सहयोग पुग्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूका लागि आफ्नो पहिचान प्राप्त गर्न, राज्यबाट प्रदान गरिने सेवा, सुविधा र अवसरको उचित लाभ लिन, आफ्नो हक अधिकार सुनिश्चितताको लागि आवाज उठाउन, राज्यका संयन्त्रहरुमा आफ्नो अर्थपूर्ण सहभागिता जनाउनको लागि अति आवश्यक पर्ने यस्ता प्रकृतिका कार्यक्रम सबै टोलवस्तीहरूमा सञ्चालन गर्दा अझै प्रभावकारी हुने देखिन्छ।

निश्कर्षः

नेपालको संविधानको सामाजिक न्यायको हक (धारा ४२) अन्तर्गतको उपधारा ३ मा अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने व्यवस्था गरिएको छ । साथै संविधानको अनुसुची ८ मा व्यवस्था भएको स्थानीय तहको एकल अधिकार अन्तर्गतको बुदा नं. १५ मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन गर्ने कार्य समेत स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४२ मा भएको अपाङ्गता सम्बन्धमा स्थानीय तहमा सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्याङकन, सरोकारवाला निकाय तथा संघसंस्थाहरुसँग समन्वय, सहजीकरण आदि लगायत अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्य समेत गर्न गाउँपालिकास्तरीय अपाङ्गता हकहित समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था अनुसार यस प्रतापपुर गाउँपालिकामा समिति गठन गरी अपाङ्गता परिचय पत्रवितरण सम्बन्धि कार्य समेत गर्दै आएको छ । प्रतापपुर गाउँपालिकाले आफ्ना बजेट तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गलाई समेट्ने गरी कार्यक्रमहरू तर्जुमा गरेको छ ।

समग्रमा प्रतापपुर गाउँपालिकाको आयोजनामा ३० औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आयोजित अपाङ्गता भएका व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरियो । एक दिवसीय कार्यक्रममा सहभागी सबै वडाका अपाङ्गता भएका व्यक्तित्वहरूले सम्मान प्राप्त गर्नुभयो । कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्न प्रत्यक्ष परोक्ष भूमिका निर्वाह गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुलाई एकमुष्ट धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post