गाह्रो छैन लोकसेवा

विवेक रिजाल
अहिले निजामती सेवाप्रतिको आकर्षण बढ्दो छ । यसले पछिल्लो समयमा निजामती सेवामा प्रवेशका निम्ति दरखास्त दिनेहरूको संख्या ह्वात्तै बढ्नुका साथै प्रतिस्पर्धाको दायरा पनि फराकिलो बनेको छ ।
अघिल्लो वर्षको तथ्यांक हेर्ने हो भने शाखा अधिकृत पदका निम्ति दरखास्त आह्वान गरिएको करिब तीन सय ७५ रिक्त पदमा लगभग २३ हजार पाँच सय जति दरखास्त परेका थिए । यसरी हेर्दा माग हुने रिक्त पदको तुलनामा दरखास्त संख्या अत्यधिक हुने भएकाले लोकसेवा आयोगको जाँच पास गर्नु साँच्चिकै कठिन छ भन्ने धेरैको बुझाइ हुन्छ ।
के लोकसेवाको परीक्षा उत्तीर्ण गर्नु वास्तवमै मुस्किल छ ? मेरो अनुभवमा त छैन । के कस्तो पक्षमा ध्यान दिएर तयारी गरे लोकसेवा आयोगको जाँच उत्तीर्र्ण गर्न सकिएला ? धेरैको प्रश्न यही हो । अतः यस आलेखमा यस्तै प्रश्नलाई सम्बोधन गर्दै मैले नेपाल सरकारको शाखा अधिकृतसम्मको जाँच उत्तीर्र्ण गर्दा सँगालेका अनुभवका आधारमा लोकसेवा परीक्षाप्रतिको आफ्नो दृष्टिकोण पस्केको छु । साथै, यसमा सफल हुन ध्यान दिनुपर्ने विषय र परीक्षाको तयारी गर्दा विचार गर्नुपर्ने सामान्य कुराको बारेमा प्रस्ट्याउने प्रयत्न गरेको छु ।
निजामती सेवाका निम्ति लोकसेवा आयोगले लिने परीक्षामा प्रतिस्पर्धीको संख्या धेरै हुनु नौलो कुरा होइन । लोकसेवा आयोगको जाँचमा दरखास्त संख्या धेरै हुँदैमा आफू उत्तीर्र्ण हुने सम्भावना कम हुन्छ कि भनी सोच्नु गलत छ । वास्तवमा दरखास्त दिने धेरैजसो व्यक्तिले लोकसेवाले निर्धारण गरेको सम्बन्धित पदको पाठ्यक्रमसमेत राम्रोसँग बुझ्न र अध्ययन गर्न भ्याएका हुँदैनन् । अझ यथार्थमा भन्नुपर्दा दरखास्त दिनेमध्ये २५ प्रतिशतले मात्र पाठ्यक्रम बुझेर अध्ययन गरेका हुन्छन् र वास्तविक प्रतिस्पर्धा त्यही २५ प्रतिशतभित्र हुन्छ ।
ती २५ प्रतिशत परीक्षार्थीमध्ये पनि केही प्रतिशतले लोकसेवा आयोगले लिने प्रथम चरणको परीक्षा अर्थात् प्रवेशिका परीक्षा पनि भन्न सकिन्छ नै उत्तीर्ण गर्न सक्दैनन् । त्यो संख्यालाई पनि घटाउँदा प्रथम पत्र उत्तीर्र्ण भई वास्तविक प्रतिस्पर्धाको दायराभित्र आउने प्रतिस्पर्धी मात्र १५ देखि २० प्रतिशत हुन्छन् । यो संख्या करिब चारदेखि पाँच हजार हुन आउँछ । पछिल्लो तीन वर्षमा लोकसेवा आयोगको प्रथमपत्रको नतिजाबाट यस्तो अवस्था देखिन्छ।
दरखास्त दिनेमध्ये २५ प्रतिशतले मात्र पाठ्यक्रम बुझेर अध्ययन गरेका हुन्छन् । वास्तविक प्रतिस्पर्धा त्यही २५ प्रतिशतभित्र हुन्छ ।
उल्लेखित पाँच हजारमध्ये सबै प्रतिस्पर्धीले आयोगले निर्धारण गरेको बाँकी रहेका द्वितीय, तृतीय र चतुर्थ पत्रको पाठ्यक्रमबमोजिम अन्तरवस्तु अध्ययन गरी पूर्ण रूपले सन्तुलित तयारी गरेका हुँदैनन् । अन्ततः लोकसेवाको पाठ्यक्रमअनुसार सबै पत्रको पूर्ण तयारी गरेर परीक्षा दिने परीक्षार्थीको संख्या हजारदेखि पन्ध्र सय मात्र हुने हुँदा मेहनत गर्नेहरूका लागि लोकसेवा आयोगको जाँच उत्तीर्ण गर्नु ज्यादै गाह्रो विषय होइन ।
लोकसेवाको जाँच दिने परीक्षार्थीले जाँचको तयारी गर्दा केही सैद्धान्तिक तथा व्यावहारिक कुरामा ध्यान दिनु जरुरी हुन्छ । अहिलेको समयमा लगभग सबै व्यक्तिले लोकसेवा तयारी कक्षा लिने भएकाले धेरैजसोको उत्तरमा समानता पाइन्छ । त्यसैले, परीक्षार्थीले आफ्नो उत्तर जतिसक्दो मौलिक एवं विशेष अर्थात् अरूको भन्दा भिन्न बनाउने कोसिस गर्नुपर्छ । त्यस्तै, बजारमा प्रशस्त किताब पाइने हुँदा परीक्षार्थीले सकेसम्म आधिकारिक स्रोतसामग्री चुन्नु जरुरी हुन्छ ।
लोकसेवाको पाठ्यक्रम सीमित भए पनि पढ्ने विषयवस्तु असीमित भएकाले आफ्नो हात पर्ने जे जस्तोसुकै अध्ययन सामग्री पनि अध्ययन गर्ने बानी परीक्षार्थीमा हुनुपर्छ । नियमित पत्रपत्रिका पढ्ने, सैद्धान्तिक विषय पढ्दा लेखेर पढ्ने बानी बसाल्ने र पढेका कुरालाई कम्तीमा हप्तामा दुई पटक रिभ्यु गर्ने बानी बसाल्नुपर्छ । दोस्रो एवं तेस्रो पत्रको तयारी गर्दा ध्यान दिनु महŒवपूर्ण हुन्छ । विशेषगरी यी दुवै सैद्धान्तिक विषय उत्तीर्ण गर्न सके नाम निकाल्ने सम्भावना प्रबल रहन्छ ।
अन्ततः लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्न पाठ्यक्रमलाई राम्रोसँग बुझेर अध्ययन तयारी गर्नुपर्ने हुन्छ । बाहिरबाट हेर्दा प्रतिस्पर्धाको दायरा फराकिलो देखिए पनि वास्तविक प्रतिस्पर्धा एक हजार, पन्ध्र सयबाट नै हुने भएकाले विभिन्न चरणका चारवटै पत्रको सन्तुलित तयारी गर्ने व्यक्तिले शाखा अधिकृत पद उत्तीर्ण गर्ने सम्भावना निश्चिय प्रवाही नै हुन्छ । यसर्थ, निरन्तर मेहनत गर्ने व्यक्तिले लोकसेवाको परीक्षा गाह्रो नसोचौं । पाठ्यक्रम बुझेर मात्र तयारी गर्ने बानी बसालौं ।
(रघुगंगा गाउँपालिका ३, म्याग्दीका शाखा अधिकृत रिजाल लोकसेवा आयोगको २०७३÷७४ को शाखा अधिकृतको परीक्षामा प्रथम हुन सफल भए । उनी हाल अर्थ मन्त्रालयअन्तर्गत राजस्व सेवा तालिम केन्द्रमा प्रशिक्षणका क्रममा छन् ।)
Susmita Paudel

Hi, I'm Susmita Paudel, an administrative officer in Nepal with a positive attitude and a passion for learning. I love sharing knowledge and experiences to inspire and help others grow.

Post a Comment

Previous Post Next Post